ह्वाइट हाउसमा सी–ट्रम्प वार्ता : सीले भने ‘अमेरिका र चीनबीच रेस हुनुपर्छ, रेसलिङ होइन’
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ।
वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्धलाई महत्वपूर्ण रहेको उल्लेख गर्दै दुई देशका हित एकअर्कासँग जोडिएको बताएका छन्।
चिनियाँ राष्ट्रपति सीले पनि अमेरिका र चीनले सहकार्य गरेर अघि बढ्नु दुवै देशका लागि हितकर हुने बताए। दुई देशबीचको द्वन्द्वले अमेरिका र चीन दुवैलाई क्षति पुर्याउने उनको भनाइ थियो।
सीले अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई संघर्षका रूपमा नभई स्वस्थ प्रतिस्पर्धाका रूपमा अघि बढाउनुपर्ने धारणा राखे। उनले भने, ‘अमेरिका र चीनबीच दौड (रेस) हुनुपर्छ, कुस्ती (रेसलिङ) होइन। दुवै देशले एकअर्कालाई उछिन्ने प्रयास गर्नुपर्छ, एउटाले जित्ने र अर्कोले हार्ने लडाइँ होइन।’
अमेरिका भ्रमणका क्रममा राष्ट्रपति सी पत्नी पेङ लियुआनसहित बुधबार राति वासिङ्टन पुगेका हुन्। ह्वाइट हाउसमा भएको भेटलाई दुई देशबीचको सम्बन्ध, सहकार्य र प्रतिस्पर्धाका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
