यूएन महासभामा प्रधानमन्त्री शाहको चेतावनी– ‘नेपालबाट आएको यो चेतावनी सम्पूर्ण मानवताका लागि हो’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी विपद्लाई जलवायु परिवर्तनबाट उत्पन्न विश्वव्यापी संकटको गम्भीर चेतावनीका रूपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयको काखमा रहेको नेपालबाट आफू विश्व समुदायसामु गम्भीर सन्देश लिएर आएको बताए। उनले भने, ‘म हिमालयमा अवस्थित नेपालजस्तो टाढाको देशबाट तपाईंहरूसामु एउटा गम्भीर चेतावनी बोकेर आएको छु– यो चेतावनी सम्पूर्ण मानवताका लागि हो।’
प्रधानमन्त्री शाहले आफूले महासभामा विकास, लोकतन्त्र, शान्ति र युवाको भविष्यका विषयमा बोल्न चाहेको भए पनि नेपालमा हालै भएको ठूलो विपद्ले मृत्यु, विस्थापन र विनाशको पीडाबारे बोल्न बाध्य बनाएको बताए।
उनले विपद्का कारण परिवारका सदस्य गुमाएका तथा आफ्ना प्रियजन घर फर्किने प्रतीक्षामा रहेका परिवारको पीडा स्मरण गरे। हिलो, चट्टान र बाढीको पानीमा आफन्त खोजिरहेका समुदायको अवस्था अत्यन्त पीडादायी रहेको उल्लेख गर्दै उनले कतिपय बेपत्ता व्यक्तिको शवसमेत कहिल्यै फेला नपर्न सक्ने बताए।
शाहका अनुसार विपद्ले केही मिनेटमै पुल, सडक, विद्यालय, घर तथा मानिसहरूको जीविकोपार्जनका आधार बगाएको थियो। दिगो विकास लक्ष्य हासिल गर्दै निरन्तर प्रगतितर्फ अघि बढिरहेको नेपाललाई केही साताअघि आएको विपद्ले ठूलो धक्का पुर्याएको उनको भनाइ थियो।
हिमाली क्षेत्रमा भएको विनाशले विश्वलाई नै झस्काएको उल्लेख गर्दै उनले उक्त घटनालाई कतिपयले ‘माउन्टेन सुनामी’ र ‘हिमालयन सुनामी’ भनेर समेत व्याख्या गरेको बताए।
‘भोटेकोसी–त्रिशूली विपद् केवल स्थानीय त्रासदी थिएन, यो विश्वका लागि एउटा चेतावनी थियो,’ प्रधानमन्त्री शाहले भने, ‘आज म तपाईंहरूलाई सोध्न चाहन्छु– के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ ?’
उनले करिब तीन वर्षअघि सगरमाथाको छायामा उभिएर संयुक्त राष्ट्रसंघका महासचिवले जलवायु संकट र त्यसबाट मानवतामाथि पर्न सक्ने जोखिमबारे दिएको चेतावनी स्मरण गरे।
विश्वका वैज्ञानिकहरूले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमबारे प्रमाणसहित निरन्तर चेतावनी दिँदै आए पनि राजनीतिक नेतृत्वले ती चेतावनीलाई जोखिममा रहेका समुदायले अपेक्षा गरेको गति र स्तरमा ठोस कार्यमा रूपान्तरण गर्न नसकेको उनले बताए।
‘गत महिना हामीले त्यस चेतावनीको दुःखद परिणाम देख्यौँ,’ शाहले भने।
जलवायु परिवर्तनका कारण संवेदनशील हिमालयको पारिस्थितिक प्रणालीमा अस्थिरता बढिरहेको उनको भनाइ थियो। पग्लिँदो स्थायी तुषारो (पर्माफ्रस्ट)का कारण हिमाली भिरालो भूभागमा चिरा पर्ने, हिमनदीमुनिका संरचना कमजोर हुने तथा बरफ र चट्टानका पहिरोको जोखिम बढ्ने अवस्था देखिएको उनले बताए।
प्रधानमन्त्री शाहले हिमालयमा देखिइरहेका यस्ता परिवर्तनलाई नेपालको मात्र समस्या नभई सम्पूर्ण विश्वको साझा चुनौतीका रूपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। उनले जलवायु संकटका कारण उत्पन्न जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी तथा प्रभावित समुदायको संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको सन्देश दिए।
