हिरोका कारण मुग्लिन–नारायणगढ र बीपी राजमार्ग पूर्णरूपमा बन्द

काठमाडौं । लगातारको वर्षापछि ठाउँठाउँमा पहिरो र लेदो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड र बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेको छ। पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले सडकखण्डमा आवागमन बन्द रहेकाले यात्रु तथा चालकलाई सोहीअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।

यसैबीच, अविरल वर्षापछि आएको पहिरो र लेदोका कारण काभ्रेपलाञ्चोक खण्डमा बीपी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन समय लाग्न सक्ने प्रहरीले जनाएको छ। सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ।

यसैबीच, काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबानको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाअनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो।