‘पाँच पाण्डव’को प्रदर्शन नरोकिने

काठमाडौं । वसन्त निरौला निर्देशित चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शनबारे देखिएको अन्योल हटेको छ। निर्माण पक्षले पूर्वनिर्धारित मिति कात्तिक २० गतेदेखि नै चलचित्र देशभर प्रदर्शन गर्ने जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बिहान भएको छलफलपछि चलचित्रको प्रदर्शन नरोकिने सहमति भएको हो। छलफलमा सञ्चारमन्त्री विक्रम तिमल्सिनासहित चलचित्र निर्माण टोली र केन्द्रीय चलचित्र जाँच समितिका पदाधिकारी सहभागी थिए।

चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितका अनुसार सञ्चारमन्त्री तिमल्सिनाले चलचित्र रोक्ने सरकारको कुनै नियत नरहेको र प्रदर्शन रोक्न नहुने धारणा राखेका थिए।

यसअघि प्रदर्शन रोक्ने निर्देशन आएको खबर सार्वजनिक भएपछि निर्माण पक्षले विज्ञप्ति जारी गर्दै निर्धारित मितिमै चलचित्र प्रदर्शन हुने स्पष्ट पारेको थियो। निर्माण टोलीले सबै धर्मप्रति सम्मान रहेको र चलचित्रले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलको अपमान गर्ने उद्देश्य नराखेको जनाएको छ।

चलचित्रले बुधबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिबाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट पाएको थियो।

चलचित्रको ‘राजा चाहियो छ’ बोलको आइटम गीत सार्वजनिक भएपछि विवाद सुरु भएको थियो। निर्माण पक्षले चर्चित टिकटकर इभा गिरीलाई महाभारतकी द्रौपदीका रूपमा परिचित गराए पनि गीतमा उनलाई आइटम डान्समा प्रस्तुत गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। केही समूहले चलचित्र बहिष्कार अभियानसमेत चलाएका थिए।

निर्देशक निरौलाले भने गीतमा देखाइएको पात्र महाभारतकी द्रौपदी नभएको स्पष्ट पार्दै चलचित्र प्रदर्शनअघि नै गीत र ट्रेलरका आधारमा विवाद सिर्जना गर्नु उचित नभएको बताएका थिए।

यसैबीच, नेपालगन्जस्थित हलमा चलचित्र प्रदर्शन गरे तोडफोड गर्ने धम्की आएको भन्दै निर्माण टोलीका एक सदस्यले गृह मन्त्रालयमा जानकारी गराएका थिए। त्यसपछि गृहसचिव केदारनाथ शर्माले सञ्चार मन्त्रालयका अधिकारीसँग चलचित्र विवादबारे चासो राखेका थिए। सोही विषयमा मन्त्रालयमा छलफल भएको थियो।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्र ‘पाँच पाण्डव’ सामाजिक विषयवस्तुमा आधारित छ। महाभारतका पाँच पाण्डवको चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्न खोजिएको लेखक पौडेलले बताएका छन्।

चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ।