प्रधानमन्त्री शाह आज अमेरिका जाँदै, असोज ८ गते महासभालाई सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको अपराह्न ४ः१५ बजेको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्। परराष्ट्रमन्त्री शिशिर खनाल पनि नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ। यो उनको प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण हो।
