नागरिकको विश्वास जित्दै अपराध नियन्त्रण गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको विश्वास र सहकार्यलाई प्रहरी कार्यको केन्द्रमा राख्दै नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै आईजीपी कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा साझेदारी थप सुदृढ बनाउनुपर्ने बताए।

उनले अपराधका प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिममा आधारित प्रहरी परिचालन गर्न तथा प्रमाणमुखी र प्रविधिको रणनीतिक प्रयोगमा आधारित अपराध अनुसन्धानलाई प्राथमिकता दिन निर्देशन दिए।

विगतका घटना तथा अनुभवको समीक्षा गर्दै सूचना सङ्कलन र विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना निर्माण गरी सक्रियतापूर्वक कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो।

आईजीपी कार्कीले योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापनसँगै सुशासन, अनुशासन र आन्तरिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिए।

बैठकमा उठेका विषयलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्न तथा देखिएका कमीकमजोरी सुधार गर्दै केन्द्र र प्रदेश प्रहरीबीच कार्यसम्पादनमा एकरूपता कायम गर्नुपर्ने उनले बताए।

बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।

बैठकमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, सुरक्षा चुनौतीको सामना र विपद् व्यवस्थापनलगायत विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो।