त्रिपुरेश्वर बस आगजनीमा घाइते चालकको मृत्यु

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार मध्याह्न रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा गम्भीर घाइते भएका बस चालकको मृत्यु भएको छ ।

घटनाअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको थियो। प्रारम्भिक अनुसन्धानमा चालक आफैँले बसमा आगो लगाएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको बर्न अस्पताल किर्तिपुरले जनाएको छ ।

घटनास्थलबाट फेला परेको चालकको लाइसेन्सका आधारमा प्रहरीले सुरुमा मृतकलाई दावा लामा भएको जनाएको थियो। तर, लाइसेन्समा उल्लेखित दावा लामाले आफू सकुशल रहेको र लाइसेन्स आफ्नो भएको बताएपछि मृतकले उनको लाइसेन्स प्रयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ।

मृतकको वास्तविक नाम, ठेगाना र पहिचान भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।