देउवाको स्वदेश फिर्तीलाई कांग्रेसले गर्‍यो स्वागत, अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गरेको छ।

सभापति गगन थापाको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गरेका चार निर्णयमध्ये पहिलो निर्णयमै देउवाको स्वदेश फिर्तीलाई स्वागत गरिएको हो।

बैठकले देउवाको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेको छ। निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएकोमा हार्दिक स्वागत गर्दछ। यो बैठक उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ।’

कांग्रेसले लोकतान्त्रिक आन्दोलन र पार्टीको गर्विलो इतिहास निर्माणमा देउवाले पुर्‍याएको योगदानको पनि स्मरण गरेको छ। बैठकले लोकतान्त्रिक आन्दोलनमा देउवाले गरेको नेतृत्वप्रति सम्मान व्यक्त गरेको हो।

साथै, कांग्रेसले देउवाबाट आगामी दिनमा अभिभावकीय भूमिकाको अपेक्षा गरेको छ। पार्टीमा आएको पछिल्लो वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील कांग्रेस निर्माणमा देउवाले निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास बैठकले व्यक्त गरेको छ।

निर्णयमा भनिएको छ, ‘पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ।’

कांग्रेसको केन्द्रीय समितिले देउवाको अनुभव र योगदानलाई पार्टीको आगामी यात्रामा उपयोग गर्दै नयाँ नेतृत्व र पुरानो पुस्ताबीच समन्वय कायम गर्ने संकेतसमेत गरेको छ।