काठमान्डु गोर्खाजलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा
काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको हो।
योसँगै सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। लगातार तेस्रो संस्करणमा प्लेअफमा पुगेको सुदूरपश्चिम यसअघिका दुवै संस्करणमा उपविजेता बनेको थियो।
जितसँगै ७ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। एक खेल खेल्न बाँकी रहेको काठमान्डु ८ अंकसहित तेस्रो स्थानमा छ। पराजित भए पनि काठमान्डुको प्लेअफ सम्भावना भने कायमै छ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।
काठमान्डुका लागि राशिद खानले अविजित ३५ रन बनाए। दुशान हेमन्तले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमका बलर अनिल खरेलले दुई विकेट लिए भने फाबियन एलेन, स्कट कुगलेइन र हेमन्त धामीले समान एक विकेट हात पारे।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। ओपनर स्कट कुगलेइन ६ र विनोद भण्डारी १ रनमा आउट भए। त्यसपछि आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डेले खाता नै खोल्न सकेनन्। दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले पभेलियन फर्काएका थिए।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरे। तर, शेख २५ बलमा १६ रन बनाएर रनआउट भएपछि सुदूरपश्चिम फेरि दबाबमा परेको थियो।
कप्तान ऐरीले ६० रनको अर्धशतकीय पारी खेल्दै टोलीको स्कोर उकासे। थरिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिए।
काठमान्डुका बलर जहानदाद खानले तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे।
सुदूरपश्चिमले अब प्लेअफमा स्थान सुरक्षित गर्दै उपाधि यात्रालाई निरन्तरता दिएको छ।
