विगतको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु मेरो दायित्व हो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो राजनीतिक अनुभव मुलुक र पार्टीले उपयोग गर्नुपर्ने बताएका छन्। पाँच महिनापछि बिहीबार नेपाल फर्किएलगत्तै अपिलपत्र जारी गर्दै देउवाले आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको बताएका हुन्।
देउवाले आफूलाई अब राजनीतिबाट व्यक्तिगत रूपमा केही लिनु नरहेको उल्लेख गर्दै विगतको अनुभव भने देश र पार्टीका लागि उपयोगी हुने बताएका छन्।
‘मैले राजनैतिक रूपमा लिनुपर्ने केही छैन, तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नुपर्छ। त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व पनि हो,’ उनले भने, ‘नेपाली कांग्रेसप्रतिको मेरो अटुट विश्वास र माया कहिल्यै कम हुने छैन।’
उनले युवा र अनुभवी पुस्ताबीच सन्तुलन कायम गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन्। युवाहरूलाई नेतृत्वमा अघि बढाउनुपर्ने भए पनि त्यसका नाममा पुरानो पुस्ता र अनुभवी नेताहरू खराब हुन् भन्ने गलत धारणा बनाउन नहुने उनको भनाइ छ।
देउवाले पार्टीका नेता तथा कार्यकर्ता अहिले निराश अवस्थामा रहेको उल्लेख गर्दै उनीहरूको मनोबल उच्च बनाउन र पार्टीभित्रको भावनात्मक एकता पुनः कायम गर्नुपर्ने बताएका छन्।
‘पार्टीका साथीहरू अहिले निराश भएको अवस्था छ। उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको छ,’ उनले भने।
आफूले माओवादी सशस्त्र द्वन्द्वदेखि मुलुकका विभिन्न जटिल राजनीतिक घटनाक्रम तथा कांग्रेसभित्रका विवाद समाधानमा भूमिका खेलेको स्मरण गर्दै देउवाले आगामी दिनमा आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
‘विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको मेरो अनुभव छ। मलाई विश्वास छ, त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु,’ उनले भने।
देउवाले पार्टीले विगतका कमजोरीको आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्ने बताएका छन्। आफूहरूबाट कतै गल्ती वा विचलन भएको भए त्यसलाई सच्याउँदै पुनः अघि बढ्ने उनको भनाइ छ।
‘यदि हामी कतै विचलित भएका छौं भने सुधार गर्नेछौं, यदि कतै चुक्यौं भने पुनः उठ्नेछौं,’ उनले भने, ‘हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ, जसलाई तराईदेखि हिमालसम्मका प्रत्येक नागरिकको सुझाव, अपेक्षा र आकांक्षाले मार्गदर्शन गर्नेछ।’
