यूएईमा २३ सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा पाँच ट्रक र १८ कार एकआपसमा ठोक्किँदा भएको भीषण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

यूएईको गृह मन्त्रालयका अनुसार एक ट्रक चालकले नियन्त्रण गुमाउँदा ट्रक अर्को सवारीसाधनसँग ठोक्किएको थियो। त्यसपछि सुस्त गतिमा गुडिरहेका अन्य सवारीसाधनसमेत एकपछि अर्को गर्दै ठोक्किएर दुर्घटना भएको हो।

मध्यरात हुनुभन्दा केही समयअघि फुजैराह प्रवेशद्वारमा सवारीसाधनको गति सुस्त रहेका बेला दुर्घटना भएको थियो। ठोक्किएपछि ट्रकमा आगलागी भएको र आगो नजिकै रहेका अन्य सवारीसाधनमा समेत फैलिएको मन्त्रालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि अस्पताल लगिएको फुजैराह प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको छ।

प्रहरीका अनुसार मृतकमध्ये केही यूएईका नागरिकसमेत रहेका छन्। यूएईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकको पनि मृत्यु भएको पुष्टि गरेको छ।

दूतावासले मृतकका परिवारसँग सम्पर्कमा रहेको र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।