ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले नेपाल र भट्टराईका नाममा आदेश जारी गर्दै उनीहरूमाथि मुद्दा चलाउन नपर्ने भए त्यसको आधार र कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
सर्वोच्चले नेपाल र भट्टराईसँगै महान्यायाधीवक्ताको कार्यालय र विशेष अदालतका नाममा पनि लिखित जवाफ माग गरेको छ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा उन्मुक्ति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाइएको दाबी गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए।
निवेदक नेउपानेले ललिता निवास जग्गा प्रकरणमा नेपाल र डा. भट्टराईको समेत अनुसन्धान गरी मुद्दा चलाउन आदेश दिन माग गरेका थिए।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पूर्वप्रधानमन्त्रीसँग लिखित जवाफ नलिई मुद्दा टुंग्याउन उचित नहुने ठहर गरेको हो।
अब नेपाल र भट्टराईले आफूहरूमाथि मुद्दा चलाउनुपर्ने वा नपर्ने विषयमा आफ्नो धारणा र कानुनी आधारसहित सर्वोच्चमा लिखित जवाफ पेस गर्नुपर्नेछ। यससँगै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयको भूमिकासम्बन्धी विवाद फेरि न्यायिक प्रक्रियामा प्रवेश गरेको छ।
