आठबीसकोटका मेयर रवि केसीसहित ११ जनाविरुद्ध १ करोड ७१ लाख भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका नाममा चिस्यान केन्द्र (चिलिङ सेन्टर) निर्माण तथा दुग्ध ढुवानीका लागि गाडी खरिद गर्न सरकारबाट प्राप्त अनुदान दुरुपयोग गरी १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ हिनामिना भएको ठहर गर्दै काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।
अख्तियारका अनुसार सहकारीले अनुदान प्राप्त गर्न आवश्यक मापदण्ड पूरा नगरे पनि कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा प्रक्रियाविपरीत अनुदान उपलब्ध गराइएको थियो। डेरी सञ्चालन गर्ने उद्देश्यले अनुदान लिइए पनि दुई वर्षसम्म सञ्चालन नगरिएको र सरकारी बजेटबाट खरिद गरिएका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
अनुसन्धानका क्रममा चिस्यान केन्द्र निर्माणका लागि विनियोजित ९१ लाख १७ हजार ८७३ रुपैयाँ तथा मिल्क ट्याङ्कर र गाडी खरिदका लागि उपलब्ध गराइएको ८० लाख २३ हजार ५१ रुपैयाँ गरी कुल १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ दुरुपयोग भएको पाइएको आयोगको दाबी छ।
मेयर रवि केसीविरुद्ध ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गरिएको छ।
अख्तियारले मेयर केसीसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत ज्ञानकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन तथा कृषि विकास कार्यालयका कृषि अधिकृत मीनबहादुर केसीलाई पनि प्रतिवादी बनाएको छ।
त्यसैगरी, आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाया, सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, जरिवाना तथा कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ।
