सरकारले देशलाई उत्तर कोरियाको बाटोतर्फ धकेल्दैछ : सांसद अमरेशकुमार सिंह
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले राष्ट्रियताको भावना बोक्न नसकेको र देशलाई उत्तर कोरियाको बाटोतर्फ लैजान खोजेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले सरकारले मधेसी, जनजाति र दलित समुदायलाई उपेक्षा गर्ने नीति लिएको आरोप लगाए।
उनले विगतका आन्दोलनहरूमा सधैं गरिब र सीमान्तकृत समुदायका मानिसहरूले ज्यान गुमाएको दाबी गर्दै सरकारमा राष्ट्रियताको भावना नरहेको टिप्पणी गरे।
सांसद सिंहले सरकारले युवाहरूलाई वैदेशिक रोजगारीका लागि विदेशिनबाट रोक्न नसकेको र नियुक्तिहरूमा आफ्ना निकट व्यक्तिलाई प्राथमिकता दिएको आरोप पनि लगाए। वर्तमान सरकारले समावेशिता र संविधानको मर्ममाथि प्रहार गरेको उनको भनाइ थियो।
उनले भने, “मैले पहिले नेपाललाई पाकिस्तान बनाउन खोजिँदैछ भनेको थिएँ। अहिले मेरो त्यो मूल्याङ्कन गलत रहेछ भन्ने लागेको छ। अहिले त देशलाई उत्तर कोरिया बनाउन खोजिएको देखिन्छ।”
आफ्नो ५६ वर्षको अनुभव सुनाउँदै उनले मधेस आन्दोलन र थारुहट आन्दोलनमा पटक–पटक गोली चलेको स्मरण गर्दै ती घटनामा सधैं सर्वसाधारण नागरिक नै पीडित बनेको बताए।
