बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति

बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुगेको छ।

गएराति आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर बगाएको हो।

बाढीका कारण नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा पनि आंशिक क्षति पुगेको छ।

घरमा क्षति भएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको वडा सदस्य युवराज रानाले जानकारी दिए।

नदीमा बाढी आउनुअघि नै स्थानीय प्रशासनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

गएरातिसम्म वर्षा भए पनि आज बिहानदेखि बुटवलमा वर्षा रोकिएको छ।