कालीगण्डकीको बाढीले मिर्मी–हर्मिचौर जोड्ने पुल बगायो
गुल्मी । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ।
मिर्मी ड्याम साइटभन्दा तल रहेको बेलिब्रिज शैलीको उक्त पुल आज बिहान करिब ६ बजेतिर बाढीले बगाएको हो।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत विष्णुप्रसाद न्यौपानेका अनुसार ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बाढीले बगाएको हो।
गुल्मीका प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीले पनि पुल बगेको पुष्टि गर्दै उक्त पुलबाट चारपांग्रे सवारीसाधन आवतजावत गर्ने गरेको बताए।
पुल बगेपछि मिर्मी–हर्मिचौरबीचको आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ।
