पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ।
यद्यपि, जबरालाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा खुलाएको छैन।
जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। महाअभियोग प्रस्तावमा उनीमाथि २१ वटा आरोप लगाइएको थियो।
महाअभियोग सिफारिस समितिले जबरासँग सम्बन्धित विषयमा छानबिन गरी प्रतिवेदनसमेत पेश गरेको थियो। समितिले उनको सम्पत्तिसम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान गर्न सिफारिस गरेको थियो।
यसबीच, जबराको महाअभियोगसम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै निवेदन खारेज गरेको छ। महाअभियोग प्रक्रिया र त्यससँग जोडिएका विषयमा पछिल्लो समय पुनः कानुनी बहस चलिरहेको थियो।
को हुन् चोलेन्द्र शम्शेर जबरा?
राणा परिवारका सदस्य चोलेन्द्र शम्शेर जबरा तत्कालीन राणा प्रधानमन्त्री वीर शम्शेर जबराका चौथो पुस्ताका सन्तान हुन्। उनका पिता युवराज शम्शेर तत्कालीन राजसभा स्थायी समितिका सदस्य थिए।
वकालत पेसामा रहेका जबरा २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। त्यसपछि उनले विशेष अदालतको सदस्यका रूपमा समेत काम गरे।
पुनरावेदन अदालत बुटवलको कायममुकायम मुख्य न्यायाधीश रहेका बेला उनी २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।
२०७५ पुस १८ गते उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। प्रधानन्यायाधीशका रूपमा उनको कार्यकालमा मन्त्रिपरिषद् गठनमा आफन्तको नाम जोडिएको विषयलगायत विभिन्न विवाद सार्वजनिक भएका थिए। त्यसपछि नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीहरूले उनको राजीनामाको माग गर्दै आन्दोलनसमेत गरेका थिए।
