बाढीपहिरोले लुम्बिनीका १८ सडकखण्ड अवरुद्ध, पाल्पा–गुल्मीमा बढी असर
रुपन्देही । तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र गेग्रानका कारण लुम्बिनी प्रदेशका पाँच जिल्लाका १८ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले असोज ११ गते बिहान सार्वजनिक गरेको विवरणअनुसार पाल्पा, गुल्मी, प्युठान, रोल्पा र अर्घाखाँचीका विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन्।
प्रहरीका अनुसार गुल्मीमा सबैभन्दा बढी सात, पाल्पामा पाँच, प्युठानमा तीन, रोल्पामा दुई र अर्घाखाँचीमा एक सडकखण्ड अवरुद्ध छन्।
गुल्मीमा कालीगण्डकी करिडोरको राक्से, रुद्रबेनी–वामीटक्सार सडकको सिस्नेभिर, मदन भण्डारी सहायक राजमार्गको शृङ्गा देउराली, तम्घास–रिडी सडकको सिमिचौर, रिडी–वामीटक्सार सडकको सोता, गुल्मी–स्याङ्जा सडकको हर्मीचौर र पुर्तिघाट–पुर्तिघाट सडकखण्ड अवरुद्ध छन्।
पाल्पामा रामपुर–आर्यभञ्ज्याङ सडक, कालीगण्डकी करिडोर, सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ, बुटवल–पोखरा सडकखण्डको तानसेन क्षेत्र तथा रामपुर–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै, प्युठानमा बाग्दुला–बाहाने, बाहाने–खवाङ र भालुवाङ–प्युठान सडकखण्ड अवरुद्ध छन्। रोल्पामा शहीदमार्गअन्तर्गत ललामाडा र घोराही–होलेरी सडकखण्डको बाहुनकुनेमा सडक बन्द छ।
अर्घाखाँचीको गोरुसिङ्गे–अर्घाखाँची सडकखण्डअन्तर्गत शितगंगा–४ ठाडामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण यातायात सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
पहाडी क्षेत्रमा थप बाढीपहिरोको जोखिम रहेकाले प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने भए सम्बन्धित सुरक्षा निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
