सुविधाको गाडी किन्ने पैसाले एम्बुलेन्स

गुल्मी- दुर्गमका जनतालाई सेवा दिनु पहिलो प्राथमिकता भन्दै गाडीलाई छुट्याइएको बजेटको रकमबाट गुल्मीको दुर्गम मदाने गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । २२ लाख ९४ हजार रुपैयाँ लागतमा गाउँपालिकाले दुईवटा एम्बुलेन्स किनेको हो ।

दुर्गमका जनतालाई सेवा दिनु पहिलो प्राथमिक ता भन्दै गाउँपालिकाले  एम्बुलेन्समा जोड दिएको बताएको छ । स्वास्थ्यचौकी पुर्कोटदहमा बाहेक अन्य गाउँमा एम्बुलेन्स नहुँदा विरामीले दुःख पाउँदै आएका थिए ।

सातवटा मध्ये ६ वडाका स्थानीयले एम्बुलेन्स नहुँदा समस्या भोग्नु परेको गुनासो आएपछि हालै एम्बुलेन्स किनेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी गराए ।

नयाँ ल्याइएको एम्बुलेन्सबाट गाउँपालिकाकै दुर्गम गाउँ अग्लुङ सहित बाँझकटेरी, सिर्सेनी, मलागिरी, म्यालपोखरी र भनभने क्षेत्रका स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सदरमुकामबाट धेरै टाढाको गाउँपालिका हो, भण्डारीले भने, पहिलो प्राथमिकता जनताको स्वास्थ्य नै हो ।जिल्लाभर जनप्रतिनिधिहरु गाडीमोहका कारण आलोचित भइरहेका बेला मदानेले जनताको स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ । विपन्न परिवारलाई एम्बुलेन्सले निःशुल्क सेवा पु¥याउने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।उनका अनुसार हाल गाउँपालिकाले आवश्यक परेको बेला भाडामा गाडी चलाउने गरेको छ । प्रत्येक वडामा दररेट तोकेर एम्बुलेन्स सेवा पु¥याइने उनले बताइन् ।