प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउनुपर्छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले आगामी भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादबारे नेपालको स्पष्ट र दृढ अडान राख्नुपर्ने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्रीले नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताए।
उनका अनुसार प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले समेत आपत्ति जनाइसकेका छन्। संसद्मा सीमा विवाद समाधानका लागि तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीले त्यसको एउटा पक्ष सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको अभिव्यक्ति भने नसच्याएको पोखरेलको आरोप छ।
नेपाल र भारतबीच सीमा समस्यासम्बन्धी विषय दुवै देशका दस्तावेजमा अभिलेखित रहेको उल्लेख गर्दै उनले यसको समाधानमा नेपालले आफ्नै अडानका साथ पैरवी गर्नुपर्ने बताए।
प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा दुई देशबीचका समस्या, विशेषगरी सीमा विवाद समाधानको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्रीले विगतमा आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर सन्देश दिन खोजेको प्रसंग उल्लेख गर्दै पोखरेलले अहिले नेपालको वर्तमान सीमाङ्कनको संरक्षण गर्नु सरकारको मुख्य दायित्व भएको बताए। ग्रेटर नेपालको विषय इतिहाससँग जोडिए पनि वर्तमान सीमाको रक्षा गर्नु सरकारको जिम्मेवारी रहेको उनको भनाइ थियो।
यसैगरी पोखरेलले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीप्रति पनि आलोचना गरेका छन्। आफ्नै पार्टीसँग संवाद नगर्ने प्रधानमन्त्रीबाट प्रतिपक्षी दलहरूसँग संवादको अपेक्षा गर्न कठिन हुने उनको टिप्पणी छ।
प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक र संवादमुखी नभएको आरोप लगाउँदै उनले त्यसलाई स्वेच्छाचारी तथा अधिनायकवादी भन्दै सच्याउन आग्रह गरे।
लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दलहरूसँग संवाद र सहकार्य आवश्यक हुने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएका छन्।
