बालेनको भारत भ्रमणअघि जनकपुर–अयोध्या रेल सञ्चालन गर्ने भारतको निर्णय

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्यालाई जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

भारतीय रेल मन्त्रालयले शनिबार जनकपुरधामदेखि अयोध्यासम्म रेल सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो। प्रधानमन्त्री शाह आगामी मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। उनको भ्रमणको पूर्वसन्ध्यामा नेपाल र भारतका दुई प्रमुख धार्मिक गन्तव्यलाई रेलमार्गबाट जोड्ने निर्णय भएको हो।

रामायण सर्किटअन्तर्गत सञ्चालन हुने यो रेल सेवाले माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। साथै, सीमापार आवागमन सहज बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भारतीय पक्षको विश्वास छ।

भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरीमा रेल सञ्चालन हुनेछ। रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै अयोध्या पुग्नेछ।

स्वीकृत तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट प्रस्थान गर्नेछ भने सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ।

रेलका प्रमुख बिसौनीहरू जयगनर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम रहनेछन्।

भारतीय रेल मन्त्रालयले यो सेवाबाट धार्मिक पर्यटक तथा तीर्थयात्रीका साथै शिक्षा, व्यापार र पारिवारिक प्रयोजनका लागि नेपाल–भारत आवतजावत गर्ने यात्रु पनि लाभान्वित हुने जनाएको छ।

रेल सेवा सञ्चालनमा आएपछि रेलमार्ग आसपासका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा परम्परागत हस्तकलासँग सम्बन्धित व्यवसायले समेत लाभ लिन सक्ने भारतीय पक्षको अपेक्षा छ। विशेषगरी नेपाल र बिहारका सीमावर्ती क्षेत्रका नागरिकका लागि यातायातको थप विकल्प उपलब्ध हुने विश्वास गरिएको छ।

भारत र नेपालका अधिकारीबीच रेल सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय विषयमा छलफल भएपछि भारतीय रेल मन्त्रालयले प्रस्ताव स्वीकृत गरेको हो।

यसअघि पनि नेपाल र भारतबीच सीमापार रेल सञ्जाल विस्तार तथा जनकपुर–अयोध्या रेल सेवा सञ्चालनका विषयमा यसै वर्ष जुन महिनामा द्विपक्षीय छलफल भएको थियो।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध र सहकार्यका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यस्तो बेला जनकपुरधाम–अयोध्या रेल सेवाको स्वीकृतिले धार्मिक पर्यटन र सीमापार यातायात सम्पर्क विस्तारलाई थप महत्त्व दिएको छ।