राष्ट्रपतिसँग प्रधानमन्त्री शाहले भने– अत्यावश्यक भएरै अध्यादेश ल्याएका हौँ
काठमाडौं । भारत भ्रमण सकेर स्वदेश फर्किएको तीन दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। करिब २० मिनेट भएको भेटमा प्रधानमन्त्री शाहले भारत भ्रमणका उपलब्धि र राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशका विषयमा छलफल गरेका हुन्।
भारत भ्रमणमा जानुअघि राष्ट्रपतिसँग शिष्टाचार भेट नगरेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री शाहले स्वदेश फर्किएपछि भने राष्ट्रपतिसँग भेट गरेका हुन्। भेटका क्रममा उनले भारतसँग आर्थिक प्याकेज प्राप्त गर्ने तथा भैरहवा विमानस्थलका लागि हवाई रुटसम्बन्धी विषयमा भएको सहमतिलाई भ्रमणको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै राष्ट्रपतिलाई जानकारी गराएका थिए।
यसअघि विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने र विपक्षी दलहरूसँग समेत छलफल गर्ने परम्परा रहे पनि प्रधानमन्त्री शाहले यसपटक उक्त अभ्यासलाई निरन्तरता दिएका थिएनन्। भारत जानुअघि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मात्र भेट गरेका थिए।
स्वदेश फर्किएपछि पनि प्रधानमन्त्री शाहले लामिछानेसँग भेट गरेलगत्तै शुक्रबार राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए। प्रधानमन्त्रीसँगको भेटअघि रास्वपा सभापति लामिछानेले पनि राष्ट्रपति पौडेलसँग करिब ४० मिनेट छलफल गरेका थिए।
राष्ट्रपति पौडेलसँगको भेटमा प्रधानमन्त्री शाहले सरकारले सिफारिस गरेका अध्यादेशहरू जारी गरिदिन आग्रह गरेका थिए। स्रोतका अनुसार प्रधानमन्त्रीले सरकारले विभिन्न कानुन निर्माणको काम गरिरहेको र हाल संसद् सञ्चालनमा नरहेको अवस्थामा अत्यावश्यक भएकै कारण अध्यादेश सिफारिस गर्नुपरेको बताएका थिए।
हाल राष्ट्रपति कार्यालयमा तीनवटा अध्यादेश विचाराधीन छन्। प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन्।
संसद्को बर्खे अधिवेशन करिब पाँच महिनाभन्दा बढी समय सञ्चालन भएर अन्त्य भएपछि सरकारले गत कात्तिक १७ गते प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा सिफारिस भएको तीन साता बितिसक्दा पनि जारी भएको छैन।
प्रेस स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन अध्यादेशमार्फत संशोधन गर्न खोजिएको भन्दै राष्ट्रपति कार्यालयले यसबारे अध्ययन गरिरहेको छ। अध्यादेशले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा संकुचन ल्याउन सक्ने भन्दै नेपाल पत्रकार महासंघलगायत सरोकारवाला संस्थाहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन्।
संविधानले सुनिश्चित गरेका मौलिक हकसँग सम्बन्धित विषयमा संसद्बाट कानुन निर्माण नगरी अध्यादेशमार्फत अघि बढाउँदा पर्न सक्ने प्रभावबारे पनि राष्ट्रपति पौडेलले चासो राखेका छन्।
भेटका क्रममा राष्ट्रपति पौडेलले लोकतान्त्रिक संस्थाहरूको महत्त्वबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। लोकतान्त्रिक पद्धतिमा संवैधानिक तथा अन्य संस्थाहरूको भूमिका र महत्त्वलाई सम्मान गर्न सके मात्रै लोकतन्त्र बलियो हुने उनको धारणा थियो। सामान्य शिष्टाचारका अभ्यासलाई बेवास्ता गर्ने तथा संसद्लाई छलेर अध्यादेश ल्याउने प्रवृत्तिप्रति पनि राष्ट्रपतिले असन्तुष्टि संकेत गरेका थिए।
यसअघि वर्तमान सरकार गठन भएपछि १३ वटा अध्यादेश जारी भइसकेका छन्। अहिले थप तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन रहेका छन्।
