महाधिवेशनमार्फत कांग्रेसलाई एकताबद्ध बनाउन जुट्न शशांक कोइरालाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको महाधिवेशनमार्फत कांग्रेसलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

देउवा पक्षीय १५औँ महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा रहेको कांग्रेस नै आधिकारिक पार्टी भएको दाबी गरेका छन्।

१५औँ नियमित महाधिवेशनअन्तर्गत रौतहट जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले आफूहरू आधिकारिक कांग्रेस भएकाले नियमित महाधिवेशन सम्पन्न गर्न अघि बढेको बताएका हुन्।

नेता कोइरालाले नेपालको वर्तमान अर्थतन्त्रको आधार कांग्रेस नेतृत्वको २०४८ सालको सरकारले तयार पारेको दाबी गरे। साथै, आर्थिक विकास र बहुदलीय संसदीय राजनीतिको जग गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बसालेको उनको भनाइ थियो।

‘२०४८ सालमा कांग्रेसको सरकारले गाउँ–गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्यको आधारशिला तयार पारेको हो,’ उनले भने, ‘त्यही सरकारले विश्वविद्यालयको संख्या र एयरलाइन्सको संख्या वृद्धि गरेको हो।’

कांग्रेसले विगतमा गरेका विकास निर्माणका कामको उचित प्रचार गर्न नसक्दा ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य निर्माण भएको कोइरालाले बताए।

पार्टीले अंगीकार गरेका आदर्श र सिद्धान्त बलियो रहेकाले सबै नेता तथा कार्यकर्तालाई समेट्न सके कांग्रेस पुनः सशक्त बन्ने उनको विश्वास थियो।

पार्टीभित्रको एकता अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै कोइरालाले महाधिवेशनलाई विभाजनको माध्यम नभई सबैलाई एक ठाउँमा ल्याउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

‘त्यसैले कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ,’ उनले भने।