जबरजस्ती उठीबासविरुद्ध माइतीघरमा नागरिकको ऐक्यबद्धता प्रदर्शन
काठमाडौं । जबरजस्ती उठीबास गराउने कार्य तथा भूमिहीन सुकुमवासीमाथि भइरहेको अमानवीय व्यवहारको विरोधमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा नागरिक ऐक्यबद्धता प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागी नागरिकहरूले विकासका नाममा गरिब तथा भूमिहीन समुदायलाई विस्थापित गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर सरकारको नीतिप्रति असन्तुष्टि जनाएका थिए।
प्रदर्शनका क्रममा ‘विकासको नाममा उठीबास बन्द गर’, ‘नेताको महल ठिक, गरिबहरूको टहरा बेठिक ?’, ‘संविधान अधिकार, व्यवहारमा उठीबास’ र ‘उठीबास होइन, अधिकार सुनिश्चित–जनताको घर हुनुपर्छ सुरक्षित’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
त्यस्तै, सहभागीहरूले सरकारको जवाफदेहिता र भूमिहीन नागरिकको अधिकार सुनिश्चिततामाथि प्रश्न उठाउँदै आक्रोश व्यक्त गरेका थिए। ‘होल्डिङ सेन्टरमा बस्दैछ, धैर्यता अब टुट्दैछ’, ‘होइ सरकार होइ, हाम्रो भोट खोइ ?’, ‘होइ सरकार होइ, इन्द्रबहादुर राई खोइ ?’, ‘जबरजस्ती उठीबास बन्द गर, गणतन्त्र सुनिश्चित गर’ र ‘जनता जागेपछि सत्ता भाग्छ’ जस्ता नारासमेत प्रदर्शनस्थलमा गुञ्जिएका थिए।
प्रदर्शनमा सहभागीहरूले भूमिहीन तथा विपन्न नागरिकको आवासको अधिकार संरक्षण गर्न र जबरजस्ती विस्थापनको कार्य रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।
