कांग्रेस डरायो भने लोकतन्त्र नै संकटमा पर्छ : महामन्त्री प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध कांग्रेस निर्भीक भएर उभिनुपर्ने बताएका छन्। कांग्रेस डराए मुलुकको लोकतन्त्र नै संकटमा पर्ने उनको भनाइ छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैली, सुशासन, संवैधानिक निकायमाथिको हस्तक्षेप, प्रेस स्वतन्त्रता, आर्थिक मन्दी र पार्टीको संगठन सुदृढीकरणलगायत विषयमा सरकारको आलोचना गरेका हुन्। मंसिर ८ गतेदेखि जारी बैठकमा उनले सरकार संसद्प्रति अनुत्तरदायी बनेको, महँगीको भार नागरिकमाथि थोपरेको र राष्ट्रिय हितका विषयमा समेत कमजोर भूमिका खेलेको आरोप लगाए।
सरकार गठन भएयता प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालय विभिन्न विवादमा मुछिँदै आएको उल्लेख गर्दै उनले सुनकोसी–मरिण डाइभर्सनदेखि पासपोर्ट प्रकरणसम्मका अनियमितताबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। न्यायपालिका, सुरक्षा निकाय र संवैधानिक आयोगहरूको स्वायत्ततामाथि हुने हस्तक्षेप रोक्दै विधिको शासन कायम गर्नुपर्नेमा उनले जोड दिए।
त्यस्तै, समाचार लेखेकै आधारमा पत्रकार तथा सरकारका आलोचकलाई तर्साउने र प्रतिशोध साँध्ने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस स्पष्ट अडानसहित अघि बढ्नुपर्ने उनको भनाइ थियो।
महामन्त्री पौडेलले बढ्दो महँगी नियन्त्रण, स्वदेशमै रोजगारी सिर्जना र युवा पलायन रोक्ने गरी सरकारले ठोस आर्थिक सुधारका कार्यक्रम ल्याउनुपर्ने बताए। वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टर तथा बस्तीबाट सुकुमवासी र अव्यवस्थित बसोबासीलाई हटाउने सरकारी कदमको विरोध गर्दै उनले संविधानप्रदत्त आवासको हक सुनिश्चित गर्न माग गरे।
भोटेकोसी बाढीलगायत प्राकृतिक विपद्मा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन र पीडित परिवारलाई घोषणा गरिएको राहत तत्काल उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराए। राजनीतिक दलहरूबीच भएका पछिल्ला छलफलको समीक्षा गर्दै निर्धारित समयमा स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न सरकारलाई दबाब दिनुपर्ने उनको धारणा थियो।
पार्टीलाई नागरिकका दैनिक समस्या र सरोकारसँग जोड्न स्थानीय तहका बैठकमा स्थानीय मुद्दालाई अनिवार्य एजेन्डा बनाउनुपर्नेमा उनले विशेष जोड दिए। परम्परागत शैलीमा मञ्चबाट एउटै प्रकृतिको भाषण गर्ने अभ्यास परिवर्तन गर्नुपर्ने बताउँदै उनले पार्टीका हरेक तहका बैठक नागरिकका वास्तविक समस्यासँग जोडिनुपर्ने उल्लेख गरे।
‘वडाको बैठक बस्दै गर्दा कम्तीमा पनि त्यो वडाका तीनवटा मुद्दा बैठकको एजेन्डा बनून्। एउटा बैठकमा कुनै किशोर वा किशोरीले मेरो मुद्दा कांग्रेसको बैठकको विषय बन्यो भनेर गर्व गर्ने अवस्था बनोस्,’ उनले भने।
उनले ज्येष्ठ नागरिकदेखि समाजका सबै वर्ग, समुदाय र जातिले कांग्रेसले आफ्ना समस्या र सवाललाई प्राथमिकतामा राखेको अनुभूति गर्नुपर्ने बताए।
कांग्रेस नेपालको राजनीतिको विश्वविद्यालय भएको र पार्टीको विधान मुलुककै सबैभन्दा समावेशी रहेको उल्लेख गर्दै उनले त्यसको विशेषता जनस्तरसम्म पुर्याउनुपर्ने बताए। मंसिर १५ गतेदेखि सुरु हुने ‘हामी तयार छौँ’ अभियानलाई प्रभावकारी बनाउँदै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई आगामी निर्वाचन लक्षित गरी गाउँटोलसम्म परिचालन गर्नुपर्नेमा उनले जोड दिए।
पार्टीभित्रका पुराना असन्तुष्टि संवादबाट समाधान गर्न आग्रह गर्दै महामन्त्री पौडेलले सामाजिक सञ्जालमा हुने गुटगत टीकाटिप्पणी रोक्नसमेत आह्वान गरे। कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन हुने ठानेर नै पार्टीमाथि चौतर्फी प्रहार भइरहेको उनको दाबी थियो। त्यसैले आन्तरिक एकता थप मजबुत बनाउनुपर्ने उनले बताए।
कांग्रेसले केवल सत्ता केन्द्रित राजनीति नगरी आम नागरिकका दैनिक जीविकासँग जोडिएका विषय संसद् र अन्य राजनीतिक मञ्चबाट सशक्त रूपमा उठाउनुपर्ने उनको आग्रह थियो।
‘जनताका वास्तविक मुद्दा बोकेर रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र जोगिन्छ र कांग्रेस थप बलियो शक्तिका रूपमा उभिन्छ,’ पौडेलले भने।
