नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग गर्ने भारतको घोषणा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा विकासका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग नयाँदिल्लीमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धि र विकासको यात्रामा भारत सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै मोदीले संयुक्त राष्ट्रसंघमा शाहले गरेको सम्बोधनबाट उनको सोच र विकासको दृष्टिकोण स्पष्ट भएको उल्लेख गरे। उनले शाहलाई विश्वकै कम उमेरका प्रधानमन्त्रीका रूपमा समेत चर्चा गरे।
नेपाल–भारत सम्बन्ध छिमेकीको सम्बन्धमा मात्र सीमित नभएको भन्दै मोदीले यसलाई विश्वास, मित्रता र एकअर्काको सुखदुःखमा साथ दिने सम्बन्धका रूपमा व्याख्या गरे। दुवै देश एकअर्काको प्रगतिका साझेदार रहेको उनको भनाइ थियो।
मोदीले सन् २०१८ मा जनकपुर भ्रमणका क्रममा व्यक्त गरेको ‘नेपालबिना हाम्रो धाम र हाम्रो राम अधुरो हुन्छ’ भन्ने भनाइ स्मरण गर्दै दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको महत्त्व पनि उल्लेख गरे।
उनले नेपालसँगको सीमा पूर्वाधार र सडक सञ्जाल विस्तारलाई भारतले प्राथमिकता दिएको बताए। उत्तराखण्डको धार्चुला तथा बनबास क्षेत्रमा नेपालसँग जोडिने पूर्वाधार विकास भइरहेको र दोधारा–चाँदनी एकीकृत जाँच चौकी (आईसीपी) निर्माणलाई तीव्रता दिइएको उनले जानकारी दिए।
त्यस्तै, बिहार, उत्तर प्रदेशलगायत भारतीय राज्यहरूबाट नेपाल जोड्ने सडक सञ्जाल विस्तारका योजना अघि बढाइएको उल्लेख गर्दै यस्ता पूर्वाधारले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भेटवार्ताका क्रममा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण विस्तार गर्ने तथा झापामा पेट्रोलियम टर्मिनल निर्माणसम्बन्धी योजनासमेत अघि बढाइएको छ। बनबासा–दोधारा चाँदनी क्षेत्रमा एकीकृत चेकपोस्ट निर्माणको शिलान्यास गरिएको पनि जनाइएको छ।
भारतको विकास सहयोग तथा पूर्वाधार विस्तारसम्बन्धी प्रतिबद्धताले नेपालको पुनर्निर्माण, व्यापार, पारवहन र आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
