प्रधानमन्त्रीको भारत भ्रमणमा ६ परियोजना : एक हस्तान्तरण, दुई उद्घाटन र तीन शिलान्यास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न ६ परियोजनाको हस्तान्तरण, उद्घाटन तथा शिलान्यास गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त समारोहमा एक परियोजना हस्तान्तरण, दुई परियोजना उद्घाटन र तीन परियोजनाको शिलान्यास गरिएको हो।

प्रधानमन्त्री शाह र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरेका छन्। संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने उक्त आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने आयोजनाका लागि लगानी बोर्ड र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता भएको थियो।

त्यस्तै, बनबासा सुक्खा बन्दरगाह, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र झापास्थित पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको छ। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको विस्तारसम्बन्धी परियोजना हस्तान्तरण गरिएको छ भने धार्चुला–दार्चुला पक्की पुल उद्घाटन गरिएको छ।

यसैगरी, भारतको अयोध्या र नेपालको जनकपुरधाम जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा पनि उद्घाटन गरिएको छ। रामायण सर्किटअन्तर्गत सञ्चालनमा ल्याइएको उक्त रेल सेवाले दुई देशका महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेल सम्पर्कमा जोडेको छ।

अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलवे अधिकारीहरूले जनकपुरधाम जाने रेललाई बिदाइ गरेका थिए।

करिब ६०४ किलोमिटर दूरीको उक्त रेल सेवा सातामा एक पटक दुवैतर्फ सञ्चालन हुनेछ। रेल प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे रेल नम्बर १५५९६ अयोध्या क्यान्टबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ।

रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा यात्रु चढाउने तथा ओराल्ने सुविधा प्रदान गर्नेछ।

नयाँ रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन, सीमापार आवागमन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।