नेपाल–भारतबीच ८ क्षेत्रमा समझदारी, फरेन्सिकदेखि स्याटेलाइट सञ्चारसम्म सहकार्य
काठमाडौं । नेपाल र भारतबीच सुरक्षा, प्रविधि, स्वास्थ्य, प्रशासन, शहरी विकास तथा कृषि क्षेत्रसहित आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुवै देशबीच विभिन्न आठ विषयमा समझदारीपत्र आदानप्रदान भएको हो।
समझदारीअनुसार फरेन्सिक विज्ञान, प्रहरी तालिम, सरकारी अधिकारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, दिगो शहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गरिनेछ।
गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्स युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच फरेन्सिक विज्ञानको अध्ययन, अनुसन्धान तथा प्राविधिक सहयोगमा सहकार्य हुनेछ।
त्यस्तै, भारतको नेसनल डिफेन्स युनिभर्सिटी र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी तालिम तथा प्रशिक्षणमा सहकार्य गर्ने समझदारी भएको छ। भारतीय सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच सरकारी अधिकारीहरूको क्षमता अभिवृद्धि तथा प्रशिक्षणमा सहकार्य गर्ने सहमति भएको छ।
आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिको विकास, प्रवर्द्धन र ज्ञान आदानप्रदानमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन्।
स्याटेलाइट सञ्चार क्षेत्रमा भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोग तथा सञ्चार सञ्जाल विस्तारका लागि समझदारी भएको छ।
यसैगरी, दिगो शहरी विकासमा प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा चिकित्सा क्षेत्रको विकास र पशुपालन तथा मत्स्यपालन क्षेत्रको प्रवर्द्धनका लागि पनि दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ।
यी समझदारीले नेपाल–भारतबीच सुरक्षा, प्रशासन, विज्ञान तथा प्रविधि, स्वास्थ्य र कृषि क्षेत्रको साझेदारीलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
