नेपाल–भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिको आधारमा रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा शाहले दुई देशबीचको मित्रता विश्वास र सहकार्यमा आधारित हुनुपर्ने धारणा राखेका हुन्।
‘नेपाल र भारतबीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैं अग्लो होस्, सहकार्य नदीझैं अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रिओस्,’ उनले भने।
नेपाल–भारत सम्बन्धलाई शब्दमा सीमित गर्न नसकिने उल्लेख गर्दै शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नै सम्बन्धको मूल आधार रहेको बताए। दुई देशको सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको उनको भनाइ थियो।
शाहले पशुपतिनाथ, माता जानकी र करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको स्नेह र सद्भाव भारत भ्रमणमा लिएर आएको बताए। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणा र न्यानो आतिथ्यप्रति आभार व्यक्त गर्दै उनले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिए।
उनले भारतीय जनतालाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकी, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमण गर्न आमन्त्रण गरे।
हिमालय क्षेत्रका जलस्रोतले नेपाल र भारतसहित यस क्षेत्रका करोडौँ मानिसलाई जीवन प्रदान गरिरहेको उल्लेख गर्दै शाहले जलवायु परिवर्तनका चुनौती सामना गर्न सहकार्य आवश्यक रहेको बताए। हिमालयबाट बग्ने नदीहरू दुवै देशको साझा भविष्य र गन्तव्यका प्रतीक रहेको उनको भनाइ थियो।
समझदारी र परियोजनाको प्रतिफल जनताले महसुस गर्नुपर्छ
प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका समझदारी तथा अघि बढाइएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्नेमा जोड दिएका छन्।
‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ। युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ। विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यवसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ,’ उनले भने।
ऐतिहासिक सम्बन्धलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई समयको आवश्यकता अनुरूप विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने उनले बताए। यसले नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने जिम्मेवारी दुवै देशको रहेको उनको भनाइ छ।
प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुनुका साथै विभिन्न समझदारी, पूर्वाधार उद्घाटन तथा शिलान्यासका काम भएको उनले जानकारी दिए।
नेपाल–भारत सम्बन्ध राम र माता जानकीको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धसँग जोडिएको उल्लेख गर्दै शाहले यही सम्बन्धलाई थप जीवन्त बनाउने उद्देश्यले अयोध्या–जनकपुर रेल सेवा शुभारम्भ गरिएको बताए।
नेपालमा साझा आर्थिक समुन्नतिका लागि भारतीय लगानीकर्तालाई स्वागत गर्दै उनले नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थी अध्ययन गर्न आउने वातावरण बनाउन तथा दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए।
शाहको सम्बोधनको पूर्णपाठ :
भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मच्छिन्द्रनाथको आशीर्वाद, नेपाली जनताको प्रेम स्नेह र सद्भाव लिएर भारतको राजकीय भ्रमणमा आएको छु । हार्दिक निमन्त्रणा, न्यानो आतिथ्यताका लागि म महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक आभार प्रकट गर्दछु ।
पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो । अतुलनीय यस सम्बन्धको केन्द्र हाम्रो दुई देशका जनता रहेका छन् । नेपाल र भारत बीचको सम्बन्ध हिमाल झैँ अटल, महासागर झैँ विशाल छ । यो यस्तो आत्मीय निकटता हो जसलाई शब्दको सीमिततामा बाँध्न सकिन्न ।
एक विश्वासनीय छिमेकीका रूपमा नेपालमा प्राकृतिक प्रकोप र विपद्का कठिन घडीमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको छ । म भारत सरकार र भारतीय जनताप्रति कृतज्ञता व्यक्त गर्दछु ।
भर्खरै हाम्रो प्रतिनिधिमण्डलस्तरीय वर्ता सम्पन्न भएको छ । शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युग सापेक्ष बनाउने उद्देश्यसहित हामीले दुई पक्षीय सम्बन्धका बहुआयामिक पक्षबाट सार्थक र दूरगामी छलफल गरेका छौँ । यस क्रममा नेपाल-भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण साझेदरी तथा परियोजनाको उद्घाटन एवं शिलान्यास समेत सम्पन्न भएका छन् ।
हामीले आज गरेका समझदारीहरू र अघि बढाइएका परियोजनाहरूको प्रतिफल समृद्धिका रूपमा देखिनुपर्छ । यी ऐतिहासिक उपलब्धिहरूले हाम्रो दुई मुलुकको समृद्ध भविष्यका लिग मिलेर काम गर्न हामीले जोइन्ट भिजन डकुमेन्ट एवं हाम्रा साझा उपलब्धिहरूको संयुक्त प्रेस रिलिजमार्फत जानकारी गराइने छ ।
यस महत्त्वपूर्ण अवसरमा महामहिम नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु । साथै मित्रराष्ट्र भारतका आत्मीय जनता हिमालयको काखमा अवस्थित मुक्तिनाथ भगवान् श्री पशुपतिनाथ, [तराइको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।
नेपाल र भारत बीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैँ होस्, सहकार्य नदी झैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाश मुनि फक्रियोस् । हामी सबैको जय होस ।
