स्थानीय र प्रदेश चुनावमा एमालेसँग मिलेर लड्ने सहमति भइसक्योः प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग मिलेर चुनाव लड्ने नीतिगत सहमति भइसकेको बताएका छन्।

गोरखा पुगेका प्रचण्डले एमालेसहित सबै कम्युनिस्ट घटकसँग सडक र सदन दुवैमा सहकार्य गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिएका हुन्।

उनका अनुसार एमाले र मसालसँग संसद् तथा सडकमा मिलेर संघर्ष गर्ने सहमति भएको छ। स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पनि संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने नीतिगत निर्णय भइसकेको उनले बताए।

‘सहकार्य गर्ने सहमति त भइसकेको छ। एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै संघर्ष गर्ने सहमति भइसकेको छ। स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ,’ प्रचण्डले भने।

उनले सहकार्यमा मात्र सीमित नभई कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर एउटै राजनीतिक केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिए। कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता र समाजवादको दिशामा अघि बढ्न सबै कम्युनिस्ट शक्ति एक ठाउँमा आउनुपर्ने भन्दै निरन्तर संवाद भइरहेको उनको भनाइ छ।

एमालेका नेताहरूसँग पनि छलफल भइरहेको उल्लेख गर्दै प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीलाई सहकार्य र एकताको आवश्यकता बुझाउन भने सहज नभएको बताए। यद्यपि, देशको परिस्थिति बदल्न राजनीतिक शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको विषयमा सकारात्मक छलफल भइरहेको उनले दाबी गरे।

प्रचण्डले कांग्रेसका नेताहरूसँग पनि निरन्तर संवाद भइरहेको बताए। संविधानसभा र शान्ति सम्झौतामा सहभागी सबै राजनीतिक शक्तिबीच सहकार्य हुनुपर्ने उनको भनाइ छ।

त्यस्तै, मधेस केन्द्रित दलहरूसँग पनि संविधान, गणतन्त्र, समावेशिता र संघीयताको रक्षाका लागि मोर्चाबन्दी गर्ने विषयमा सकारात्मक छलफल भइरहेको उनले जानकारी दिए।