संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालै भोटेकोशीमा आएको जलवायुजन्य बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिव गुटेरेसप्रति आभार व्यक्त गरे। उनले बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका क्षेत्रमा संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै गुटेरेसले पुर्‍याएको योगदानको प्रशंसा गरे।

जवाफमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रमध्ये एक नेपालले विश्व शान्ति र स्थायित्वका लागि पुर्‍याउँदै आएको योगदानको सराहना गरे।

भेटमा नेपालको पुनर्स्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा विचार आदानप्रदान भएको थियो।

त्यसैगरी, क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल गर्दै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो।