छठ पर्व सुरु, आज पहिलो दिन ‘नहाय–खाय’
काठमाडौं । दीपावली पर्व सकिएसँगै आजदेखि चारदिने छठ पर्व सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ विधि गर्दैछन्।
छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिन्छ। तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरी मनाइने छठ पर्वलाई आस्था, निष्ठा र भक्तिको प्रतीकका रूपमा लिइन्छ। यस पर्वमा जातीय तथा सामुदायिक विभेद बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ। छठले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकतालाई बलियो बनाउने विश्वास गरिन्छ।
छठ पर्व सुरु भएसँगै मिथिला क्षेत्रका गाउँबस्ती तथा बजारमा चहलपहल बढेको छ। पर्वको तयारीस्वरूप घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन्। सूर्यदेव र छठीमाताको महिमा गाइने गीतले मिथिलाको वातावरण छठमय बनेको छ।
व्रतालु तथा स्थानीयवासी नदीकिनार, पोखरी र अन्य जलाशयमा छठघाट निर्माण तथा सरसफाइमा जुटेका छन्। विशेषगरी युवा छठघाट निर्माण, सजावट र व्यवस्थापनमा सक्रिय देखिएका छन्।
त्यस्तै, घरका भित्ता लिपपोत तथा रङरोगन गरी सजाउने, बाँसका सामग्रीबाट पूजा स्थल तयार गर्ने र सडक, घर तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती जडान गर्ने काम भइरहेको छ। धनी–गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ छठ पर्व मनाउने तयारी गरेका छन्।
छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सामूहिक रूपमा सहभागी हुने र सबैले समान रूपमा पूजा गर्ने परम्पराले सामाजिक सद्भाव तथा एकताको सन्देशसमेत दिने गरेको छ।
