एमालेमा विष्णु र शंकरले अब ओली नेतृत्व परिवर्तनको कुरा नगर्ने, स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर केन्द्रित हुने
राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार १६४ जना सहभागी हुने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्दै आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूको अभिव्यक्तिले पार्टी नेतृत्व र पुनर्गठनबारे जारी बहसलाई साम्य पार्दै संगठन सुदृढीकरणमा जोड दिने संकेत गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार बसेको बैठकमा दुवै नेताले पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका हुन्।
बैठकमा उपाध्यक्ष पौडेलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयलाई क्षणिक र अस्थायी धक्काका रूपमा लिनुपर्ने बताए। आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने गरी तयारी गर्नुपर्ने उनको भनाइ थियो।
उनले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले जनताको पक्षमा काम नगरेको आरोप लगाउँदै पार्टी सडक आन्दोलन र निर्वाचन दुवैका लागि तयार रहनुपर्ने बताए।
‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ पौडेलले बैठकमा भने।
प्रतिनिधिसभा निर्वाचनको परिणामपछि एमालेभित्र पार्टी नेतृत्वको कार्यशैली, संगठनको अवस्था र भावी नेतृत्वबारे बहस हुँदै आएको छ। यही पृष्ठभूमिमा पौडेलले आन्तरिक एकता र संगठनलाई बलियो बनाउने विषयमा जोड दिएका हुन्।
उनले राष्ट्रिय भेलामा पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा छलफल हुनुपर्ने बताए।
‘पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य हुनुपर्छ,’ उनले भने।
केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरिसकेको उल्लेख गर्दै पौडेलले नेता तथा कार्यकर्तालाई उत्साहित बनाएर स्थानीय निर्वाचनको तयारीमा जुटाउनुपर्ने बताए।
त्यस्तै, महासचिव पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्ता परिचालित हुनुपर्ने बताए। उनले पार्टी एकताबद्ध रहेको सन्देश जनस्तरसम्म पुर्याउन पनि आग्रह गरे।
राष्ट्रिय भेलामा ३ हजार १६४ जना सहभागी हुने
एमालेले आगामी मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीबारे जानकारी दिँदै कार्यक्रममा ३ हजार १६४ जना सहभागी हुने बताए।
उनका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्।
त्यस्तै, जिल्ला तहबाट ४४० जना र पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट १ हजार ५०६ जनाको सहभागिता रहनेछ।
भेलामा संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुने एमालेले जनाएको छ।
पार्टीले राष्ट्रिय भेलामार्फत आन्तरिक एकता सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा विकास गर्ने र आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाउने लक्ष्य राखेको छ।
