काठमाडौँ चलचित्र महोत्सव कात्तिक १३ देखि, शवाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुने

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म ‘काठमाडौँ चलचित्र महोत्सव’ आयोजना हुने भएको छ। महोत्सवमा भारतीय अभिनेत्री शवाना आजमीसहित विभिन्न देशका चलचित्रकर्मी सहभागी हुनेछन्।

महानगरपालिकाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सवको उद्देश्य, कार्यक्रम र तयारीबारे जानकारी दिएको हो।

महोत्सवको उद्घाटनमा सांघाई फिल्म एकेडेमीअन्तर्गत फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हासमेत सहभागी हुनेछन्।

काठमाडौँको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेखीय सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सव काठमाडौँको कला, संस्कृति र सम्पदालाई चलचित्रमार्फत विश्वसामु चिनाउने अवसर भएको बताइन्। महोत्सवबाट काठमाडौँभित्र रहेका तर अहिलेसम्म बाहिर आउन नसकेका कथाको खोजी हुने र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार हुने अपेक्षा गरिएको उनले बताइन्।

महोत्सवमा उद्घाटन समारोह, रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद र मास्टर क्लासलगायत कार्यक्रम सञ्चालन हुनेछन्। आमन्त्रित विदेशी चलचित्रकर्मीले नेपाली कलाकार तथा चलचित्र क्षेत्र र रचनात्मक उद्योगसँग सम्बन्धित व्यक्तित्वहरूसँग पनि अन्तरक्रिया गर्नेछन्।

अभिनेत्री आजमीले कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा सहभागी हुने कार्यक्रम छ। त्यस्तै, दीप्ति डीकुन्हाले ‘सिर्जनात्मक सहरहरूको प्रवर्धनका लागि फिल्म र महोत्सव’ विषयक प्यानल छलफलमा भाग लिनेछिन्।

जापानी निर्देशक नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा यामागाता युनेस्को फिल्म सिटीका लघु चलचित्रबारे परिचयात्मक प्रस्तुति दिनेछन्।

पुराना नेपाली चलचित्रदेखि अन्तर्राष्ट्रिय फिल्मसम्म

नेपाली पुराना चलचित्रको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ विशेष रूपमा प्रदर्शन गरिनेछन्।

महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय ख्याति कमाएका फिचर फिल्म, कथानक चलचित्र र छोटा चलचित्र प्रदर्शन गरिनेछन्। ‘इन्टरनेसनल पानोरामा’अन्तर्गत विभिन्न देशका समकालीन तथा स्वतन्त्र चलचित्र समावेश गरिएका छन्।

जय नेपाल सिनेमा घरमा प्रदर्शन हुने अन्तर्राष्ट्रिय चलचित्रमा लान हङचाउ निर्देशित चिनियाँ फिल्म ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय फिल्म ‘बयान’, जुलियन न्युहवास निर्देशित अस्ट्रेलियाली फिल्म ‘मिस एन प्लेस’, जोल्जार्गल पुरेभ्दास निर्देशित अस्ट्रेलिया–मंगोलिया सहकार्यको ‘स्टेयर्स’ र टम पाइजेट निर्देशित अमेरिकी फिल्म ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’ छन्।

त्यस्तै, ‘ला ग्राभिडा’, ‘द किङ्स वार्डेन’, ‘नट अ हिरो’, ‘नो गुड मेन’ र फ्रान्सिस फोर्ड कोपोलाको चर्चित अमेरिकी चलचित्र ‘द गडफादर’ पनि प्रदर्शन गरिनेछ। समापन अवसरमा नेपाली, अमेरिकी, फ्रान्सेली र अस्ट्रेलियाली सहकार्यमा बनेको ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गर्ने कार्यक्रम छ।

जापानको यामागाता युनेस्को सिर्जनात्मक चलचित्र सहरबाट आएको ‘भ्यु पिपुल, भ्यु सिटीज’ नामक लघु चलचित्रसमेत महोत्सवमा देखाइनेछ।

नेपाली सिर्जनालाई प्रोत्साहन पुरस्कार

महोत्सवको ‘नेपाल पानोरामा सर्ट्स’ खण्डमा स्थानीय नवप्रतिभाले नेपालकै परिवेशमा तयार पारेका चलचित्र, छोटा चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन्। महानगरपालिकाले खुला आह्वान गरेपछि प्राप्त ७५ चलचित्रमध्ये १० वटा प्रदर्शनका लागि छनोट गरिएको छ। छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै, ‘माई कल्चर, माई हेरिटेज’ अर्थात् ‘मेरो संस्कृति, मेरो सम्पदा’ शीर्षकमा आयोजित युवा लक्षित पाँच मिनेटसम्मका सर्ट भिडियो च्यालेन्जमा प्राप्त ३५ भिडियोमध्ये ११ वटा छनोट भएका छन्।

छनोट भएका भिडियोमध्ये पहिलो हुनेले एक लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

नेपाल पानोरामा सर्ट्सका लागि छनोट भएका चलचित्रमा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा: अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्स: अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ छन्।

युवा भिडियो च्यालेन्जमा शैलेश हमालको ‘ह्याप्पिनेस’, धृतिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा: द बिगेस्ट फेस्टिभल अफ काठमाडौँ’, सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ बुढाथोकीको ‘बिहाइन्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका: अ थ्रेड द्याट टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठी’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ छनोट भएका छन्।

महानगरपालिकाका अनुसार यस्ता कार्यक्रममार्फत स्थानीय सिर्जनशीलता, चलचित्र निर्माण र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रोत्साहन गरिनेछ।

चलचित्रलाई समुदाय र शिक्षासँग जोड्ने प्रयास

काठमाडौँ युनेस्को सिर्जनात्मक सहर सञ्जालको सदस्य नगर हो। यस पहिचानलाई विकास र विस्तार गर्न महानगरपालिकाले चलचित्रलाई समुदाय र शिक्षासँग जोड्दै रचनात्मक उद्योग प्रवर्धनको माध्यमका रूपमा अघि बढाइरहेको जनाएको छ।

स्थानीय मौलिकता र पहिचान जोगाउँदै चलचित्र क्षेत्रका पेशाकर्मी, संघसंस्था तथा महोत्सव आयोजकलाई स्थानीय रचनात्मक उद्योगसँग जोड्ने काम भइरहेको महानगरपालिकाको भनाइ छ।

यसैअन्तर्गत सञ्चालन हुँदै आएको ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रममार्फत समुदायमा चलचित्र हेर्ने संस्कृतिको विकास र स्थानीय क्लब तथा संघसंस्थाको महोत्सव आयोजना गर्ने क्षमता अभिवृद्धिमा जोड दिइएको छ। गत वर्ष सुन्धारा, बागबजार, लगनटोल, खुलामञ्च, बालाजु बाइपास, यट्खा बहाल, भास्करकीर्ति महाविहार र मैतीदेवी मन्दिरको खुला चौरलगायत स्थानमा चलचित्र प्रदर्शन गरिएको थियो।