अर्थमन्त्री वाग्लेलाई बर्खास्त गर्न प्रधानमन्त्री शाहसँग एमाले नेता बाँस्कोटाको माग
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका वाग्लेले भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै आएका बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत उनलाई ‘नवलेन्डुप’को संज्ञा दिँदै पदबाट हटाउन माग गरेका हुन्।
वाग्लेले राष्ट्रियताविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै बाँस्कोटाले पृथ्वीनारायण शाहको परराष्ट्र नीतिसम्बन्धी भनाइ उद्धृत गरेर आलोचना गरेका छन्। उनले वाग्लेको नाम नलिई प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै लेखेका छन्, ‘न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग, तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक–जाई कटक र दुई ढुंगाको तरुलको सूत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नव लेण्डुप उफ्रने? किक आउट हिम, पिएम!’
वाग्लेले गत कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने क्रममा ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ बताएका थिए।
उनको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न व्यक्तिले आलोचना गर्दै आएका छन्। कतिपयले यसलाई राष्ट्रियताविरोधी अभिव्यक्तिको संज्ञा दिएका छन् भने बाँस्कोटाले उनलाई पदबाट हटाउन प्रधानमन्त्रीसँग माग गरेका हुन्।
