१४ किलो थाई गाँजासहित विमानस्थलबाट दुई भारतीय महिला पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु यार महम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास रहेका छन्।
प्रहरीका अनुसार हवाई मार्ग हुँदै नेपाल आउने यात्रुको प्रोफाइलिङ गर्ने क्रममा मंगलबार लागूऔषध नियन्त्रण ब्यूरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा कार्यालय, गौचरणबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। बाटिक एयरको उडानमार्फत काठमाडौं आएका उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आइपुगेका थिए।
लागूऔषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता जीवन निरौलाले पक्राउ परेका दुवै महिलामाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।
