चक्रवात ‘अर्णव’को प्रभावले शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम, सतर्क रहन प्राधिकरणको आग्रह
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’को प्रभावले शुक्रबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा, चट्याङ, हावाहुरी तथा हिमपातको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै कात्तिक १३ र १४ गते सम्भावित प्रतिकूल मौसमबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार चक्रवातको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानले शुक्रबारदेखि चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा पर्न सक्ने देखाएको छ। यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ।
सम्भावित विपद्बाट जोगिन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी, खोला किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न आग्रह गरेको छ।
प्राधिकरणले मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि अनुरोध गरेको छ।
आपत्कालीन अवस्थामा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने प्रवक्ता केसीले जानकारी दिए।
