चोलेन्द्र पक्राउबारे राष्ट्रिय सभामा कांग्रेसले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ
काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै ढुंगानाले बिना पक्राउ पुर्जी मध्यरातमा जबरालाई नियन्त्रणमा लिइएको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। उनले उक्त घटनालाई पञ्चायतकालको अभ्याससँग तुलना गर्दै कानुनी शासनको उपहास भइरहेको आरोप लगाए।
‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ,’ उनले भने।
ढुंगानाले सरकार दुई तिहाइको दम्भमा स्वेच्छाचारी निर्णयतर्फ अघि बढेको आरोप लगाउँदै जुनसुकै घटनाबारे संसद्लाई जानकारी गराउनु र जनताप्रति उत्तरदायी हुनु सरकारको संवैधानिक दायित्व भएको बताए।
पूर्वप्रधानन्यायाधीशको पक्राउलगायत पछिल्ला समसामयिक घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ।
सांसद ढुंगानाले बाढीपीडितको अवस्था तथा पछिल्ला प्राकृतिक विपद्का घटनाबारे समेत सरकार गम्भीर नभएको आरोप लगाए। राष्ट्रिय सभाको ‘जिरो आवर’मा उठाइएका विषयको सुनुवाइ नभएको भन्दै उनले असन्तुष्टि जनाए।
सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा हुकुमी शासन लाद्न खोजेको उनको जिकिर थियो।
लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता तथा युवा पुस्ता बलिदान दिनसमेत तयार रहेको उल्लेख गर्दै ढुंगानाले सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरे।
