जनसंख्या बढाउन बिदा र प्रोत्साहनको कानुनी व्यवस्थाको तयारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घट्दो जनसंख्या वृद्धिदरलाई सम्बोधन गर्न बिदा तथा प्रोत्साहनको कानुनी व्यवस्था गर्न लागिएको बताएकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०६३ प्रस्तुत गर्दै मन्त्री मेहताले जनसंख्या वृद्धिदर निरन्तर घटिरहेको भन्दै विद्यमान कानुन संशोधन आवश्यक भएको बताइन्।

विधेयकमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने प्रस्ताव गरिएको उनले जानकारी दिइन्।

त्यस्तै, पुरुष कर्मचारीकी पत्नी सुत्केरी भएमा ४२ दिनको तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

मन्त्री मेहताका अनुसार विधेयकमा विशेष अवस्थामा गरिने गर्भपतनसम्बन्धी प्रावधान थप तथा संशोधन गर्ने, बलपूर्वक गर्भपतन गराउने अवस्थालाई स्पष्ट पार्ने तथा संशोधित प्रावधानविपरीतका कार्यलाई कसुर मानी सजायको व्यवस्था गर्ने विषयसमेत समेटिएको छ।

उनले जनसंख्या वृद्धिका लागि आवश्यक प्रोत्साहन तथा सहजीकरणका व्यवस्था कानुनमै सुनिश्चित गर्न विधेयक ल्याइएको बताइन्।