सरकार गुन्डागर्दी शैलीमा चलेको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले बिना कसुर र अभियोग पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले लोकतान्त्रिक व्यवस्थामा कोही पनि कानुनभन्दा माथि नहुने भन्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानुनी दायरामा ल्याउनुपर्ने बताए।

उनले सरकारले पूर्वाग्रह, प्रतिशोध वा विरोध गरेका आधारमा व्यक्तिहरूलाई तर्साउने, धम्क्याउने र पक्राउ गर्ने काम गरिरहेको आरोप लगाए। यस्तो कार्य कानुनी राज्य र विधिको शासनविपरीत भएको उनको भनाइ छ।

सरकार गठन भएयता यस्ता गतिविधि शृङ्खलाबद्ध रूपमा भइरहेको दाबी गर्दै महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटनासमेत स्मरण गरे।

जबरालाई पक्राउ गरिएको विषयमा प्रश्न उठाउँदै उनले खतरा दिने व्यक्तिलाई सुरक्षा दिने तर खतरा रहेको भनिएका पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने सरकारी कदमको आलोचना गरे।

जबराको पक्राउलाई लिएर सरकार राज्य आतंक, गुन्डागर्दी, निरंकुशता र स्वेच्छाचारिताको बाटोमा अघि बढेको आरोपसमेत उनले लगाए।

महरले जेनजी आन्दोलनको नाममा सरकार सञ्चालन भइरहेको उल्लेख गर्दै जेनजीलाई बदनाम गर्ने र उनीहरूलाई सुरक्षा थ्रेट दिने व्यक्ति को हुन् भन्ने सरकारले स्पष्ट पार्नुपर्ने बताए।

उनले भने, ‘आज ती जेनजीहरूलाई बदनाम गर्ने, सुरक्षा थ्रेट दिने को हुन् ? त्यो भन्नुपर्‍यो र त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्नुपर्‍यो।’