प्रयासनाले जितिन् ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि
काठमाडौं । प्रयासना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्।
आइतबार साँझ काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा गुरुङले उपाधिको ताज पहिरिएकी हुन्।
बेलायतमा बस्दै आएकी गैरआवासीय नेपाली गुरुङ महिला सशक्तीकरणका विभिन्न कार्यक्रमसँग पनि जोडिँदै आएकी छन्।
सोही समारोहमा ‘मिस अर्थ नेपाल २०२६’ को विजेतासमेत घोषणा गरिएको थियो। विनिता ओलीले ‘मिस अर्थ नेपाल २०२६’ को उपाधि जितिन्।
फिनालेमा पूर्व ‘मिस युनिभर्स इन्डिया’ तथा बलिउड अभिनेत्री सेलिना जेटली मुख्य निर्णायकको भूमिकामा थिइन्।
यसअघि ‘मिस अर्थ’ प्रतियोगिता ‘मिस नेपाल’ आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गर्दै आएको थियो। केही वर्षअघि द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गर्न छाडेपछि अहिले ‘मिस युनिभर्स नेपाल’को इजाजत प्राप्त संस्थाले नै ‘मिस अर्थ नेपाल’ प्रतियोगिता आयोजना गरेको हो।
