नारायणी नदीले नाघ्यो खतराको तह, सतर्क रहन आग्रह

काठमाडौं । नारायणी नदीले खतराको तह पार गरेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान सूचना जारी गर्दै नारायणी नदीले खतराको तह पार गरेको जनाएको हो।

प्राधिकरणले चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिमलगायत नारायणी नदी आसपासका बासिन्दालाई तत्काल उच्च तथा सुरक्षित स्थानमा सर्न सुझाव दिएको छ।

नदीको जलसतह थप बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।