मनोहरा र हनुमन्तेमा बाढीको सतह बढेपछि माइकिङ, उपत्यकाका कोरिडोरमा सवारी पार्किङ निषेध
काठमाडौं । काठमाडौं उपत्यकामा लगातार वर्षा भइरहेका बेला मनोहरा र हनुमन्ते खोलामा बाढीको सतह बढेपछि स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क गराउन माइकिङ सुरु गरेको छ।
स्थानीयलाई बाढीबाट सुरक्षित रहन आग्रह गर्दै प्रहरीले शुक्रबार बिहानदेखि खोला किनार तथा आसपासका क्षेत्रमा माइकिङ गरिरहेको हो।
गत साता पनि मनोहरा खोलामा पानीको सतह बढेपछि खोला किनारमा टहरा तथा घर बनाएर बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको थियो। उनीहरू भक्तपुरको लोकन्थली हाइट क्षेत्रमा पुगेका थिए।
काठमाडौं उपत्यकामा बिहीबार दिउँसैदेखि निरन्तर वर्षा भइरहेकाले कागेश्वरी मनोहरा, भक्तपुर र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ। कतिपय बस्तीमा बाढीको पानीसमेत पसेको जनाइएको छ।
अविरल वर्षाका कारण उपत्यकाका सबै नदी तटीय सडक (कोरिडोर) समेत जोखिमयुक्त बनेका छन्। जोखिम बढेपछि ट्राफिक तथा जनपद प्रहरीले ती क्षेत्रमा आवागमनमा उच्च सतर्कता अपनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार कोरिडोर सडकमा सबै प्रकारका सवारीसाधन पार्किङ गर्न निषेध गरिएको छ।
उनका अनुसार सबै कोरिडोर सडकमा जलसतह क्रमशः मूल सडकको छेउसम्म पुग्न थालेकाले सवारी आवागमनसमेत आवश्यकताअनुसार नियन्त्रण गर्नुपर्ने अवस्था आएको छ।
उपत्यकाका बागमती, विष्णुमती, रुद्रमती–धोबीघाट, मनोहरा, हनुमन्ते र चोभार क्षेत्रमा बाढीको जोखिम बढेको प्रहरीले जनाएको छ। वर्षाको अवस्था र प्रवृत्ति विश्लेषण गर्दै उच्च सतर्कता अपनाइएको एसपी सुवेदीले बताए।
