जुफाल विमानस्थलमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, सबै यात्रु सकुशल

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ। घटनामा जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन्।

नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज बिहीबार बिहान करिब ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडितर्फको दायाँ पांग्रा खुस्किएर बाहिर निस्किएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार पांग्रामा सामान्य समस्या देखिएको हो। जहाज अहिले धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उनले जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका थिए।

घटनामा कुनै मानवीय क्षति नभएको र सबै यात्रु सकुशल रहेको डीएसपी गिरीले बताए।