एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी मनोनित, स्थायी र केन्द्रीय सदस्यमा को-को ?
काठमाडौं । नेकपा एमालेले विगतका कमी–कमजोरीको समीक्षा गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने संकल्प गरेको जनाएको छ। असोज ५ गतेदेखि चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै पुनर्जागरण र सुदृढीकरणका लागि मार्गचित्र तयार गरेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा हामीले विगतमा रहेका कमीहरूको गम्भीर समीक्षा गरेका छौँ, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोर्याउने प्रण गरेका छौँ।’
एमालेले बैठकका क्रममा देखिएका कतिपय असमझदारी र अस्वस्थता अन्त्य भएको दाबी गर्दै पार्टी भावनात्मक रूपमा थप एकजुट भएको जनाएको छ।
बैठकले पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनीत गरेको छ। त्यस्तै, सात जनालाई स्थायी कमिटी सदस्य र ३३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरिएको एमालेले जनाएको छ।
स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन्।
त्यस्तै, केन्द्रीय कमिटीमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला रहेका छन्।
एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै निष्ठापूर्वक कार्यान्वयन गर्न नेता–कार्यकर्तालाई आग्रह गरेको छ।
साथै, बैठकले दिएको सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा तथा आगामी निर्वाचनको तयारीका लागि पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन नेता–कार्यकर्तालाई आह्वान गरेको छ।
बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टीको उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टी हो भन्ने कुरा तेस्रो केन्द्रीय कमिटीमा पनि प्रकट भएको औँल्याउँदै सबै केन्द्रीय कमिटी सदस्यहरूप्रति आभार व्यक्त गरे।
बैठकमा प्रस्तुत बाँकी एजेन्डाहरूमध्ये स्थायी कमिटीको पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद् गठन, विभागहरूको गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठनको कामलाई सचिवालय बैठकबाट निर्णय लिन केन्द्रीय कमिटी बैठकले अधिकार प्रत्यायोजन गरेको छ।
