दुई राउन्ड हवाई फायर गरेर ३३ किलो गाँजासहित तीन कारोबारी पक्राउ
काठमाडौं । प्रहरीले पर्सामा दुई राउन्ड हवाई फायर गरेर करिब ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा आइतबार राति अवैध रूपमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्।
उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
