कृष्णभिरको दीर्घकालीन समाधानका लागि अध्ययन सुरु
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पटक–पटक हुने पहिरो र सडक अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले सुरुङ वा भायोडक्ट निर्माणको विकल्पमा प्राविधिक अध्ययन सुरु गरेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा कृष्णभिरको समस्या समाधानका लागि दुई विकल्पमा अध्ययन अघि बढाइएको जानकारी दिएका हुन्।
उनका अनुसार कृष्णभिरको जोखिमयुक्त क्षेत्रमा सुरुङ निर्माण गर्ने वा अगाडितर्फ भायोडक्ट निर्माण गरेर सडक जोड्ने विकल्पमा अध्ययन भइरहेको छ। भायोडक्ट भने पिल्लरमाथि पुलजस्तो संरचना निर्माण गरी त्यसबाट सडक सञ्चालन गर्ने प्रविधि हो।
जैशीका अनुसार प्राविधिक अध्ययन सुरु भइसकेको छ। करिब दुई महिनाभित्र प्राविधिक प्रतिवेदन तयार हुने र त्यसपछि निर्माणका लागि ठेक्का प्रक्रियामा जाने विभागको तयारी छ।
‘कृष्णभिरमा दीर्घकालीन समाधानका लागि भित्रबाट टनेल खन्ने अथवा अगाडितिर भायोडक्ट बनाएर जोड्ने गरी अध्ययन सुरु भइसकेको छ,’ जैशीले समितिको बैठकमा भने, ‘दुई महिनाजतिमा प्राविधिक रिपोर्ट आउँछ। त्यसपछि हामी ठेक्कामा जान्छौँ।’
कृष्णभिरमा पटक–पटक पहिरो खस्दा पृथ्वी राजमार्गमा यातायात प्रभावित हुँदै आएको छ। पछिल्लो भदौ १० गतेको भोटेकोशी–रसुवा बाढीको प्रभावले सडकको साविकको भागमा समेत क्षति पुगेको थियो। भदौ १४ गते कृष्णभिर खण्डको सडक भत्किएपछि यातायात सञ्चालनमा थप समस्या भएको थियो।
हाल तत्कालीन समाधानका रूपमा भत्किएको सडकको माथिल्लो भागबाट ट्र्याक खोलेर सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको छ।
यससँगै सडक विभागले भविष्यमा राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने गरी अर्को सडक निर्माणको कामसमेत अघि बढाएको छ।
महानिर्देशक जैशीका अनुसार फिस्लिङ र बेनिघाटतर्फ पुलको दुवैतर्फबाट वैकल्पिक सडक निर्माणको काम सुरु भइसकेको छ। फिस्लिङतर्फ करिब १.५ किलोमिटर भिर काट्ने काम भइरहेको उनले बताए।
वैकल्पिक सडक निर्माण सम्पन्न भएपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा समस्या आए पनि उक्त मार्गबाट यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ।
‘साढे एक किलोमिटर फिस्लिङतिर भिर काट्ने काम सुरु भइसकेको छ,’ जैशीले भने, ‘यो भिर काटिसकेपछि राजमार्गमा समस्या आउँदा पनि छिटो यातायात सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ।’
