पाल्पामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार तानसेन नगरपालिका–८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे.१ ज ९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

घाइते पाँचै जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएको थियो। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।