सभापति थापाको नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।

सभापति थापाको नेतृत्वमा गठन भएको व्यवस्थापन समितिमा आवश्यकताअनुसार सदस्य रहने जनाइएको छ। महाधिवेशनका लागि गठित मूल समितिअन्तर्गत आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायत विभिन्न उपसमिति गठन गरिने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

ती उपसमितिका संयोजक तथा सदस्यहरूको नामावली पछि सार्वजनिक गरिने उनले बताए।

बैठकले १५औँ महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले पेस गर्ने निर्णयसमेत गरेको छ। उक्त प्रस्तावमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्त्व दिइने जनाइएको छ।

यस्तै, ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेस गर्नेछन्। प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव उपसभापति पुष्पा भुसालले प्रस्तुत गर्ने तय भएको छ।

त्यस्तै, संगठनसम्बन्धी प्रस्ताव महामन्त्री गुरुराज घिमिरेले पेस गर्नेछन्।

कार्यसम्पादन समितिको बैठकले पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा १५औँ महाधिवेशन प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, कांग्रेसको विधानलाई समयसापेक्ष बनाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ।

उक्त समितिले पार्टीका विभिन्न तह, निकाय तथा सदस्यबाट सुझाव संकलन गरी त्यसका आधारमा विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय कार्यसमितिसमक्ष पेस गर्ने जनाइएको छ।