वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी छानबिन गर्न संसदीय छानबिन समिति माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता तथा सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा श्रमिकमाथि भइरहेका समस्याबारे छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा गएका नेपालीको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले धानेको भए पनि राज्यले श्रमिकका समस्या र पीडाप्रति पर्याप्त ध्यान नदिएको उनको आरोप थियो।
हालसम्म झन्डै २१ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख गर्दै उनले यही रकमले मुलुकको अर्थतन्त्र र राज्य सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको भए पनि श्रमिकको जीवन र अधिकार भने असुरक्षित रहेको बताए।
‘नेपालबाट श्रम स्वीकृति लिएर र नलिई वैदेशिक रोजगारीमा जानेको संख्या झन्डै एक करोड पुग्न लागेको छ। तर उनीहरू विदेशमा ठगिएका छन्, अलपत्र परेका छन् र सम्झौताअनुसारको काम तथा तलब नपाउँदा मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य छन्,’ उनले भने।
सांसद शाहीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको संख्या पनि भयावह रहेको उल्लेख गरे। उनका अनुसार हालसम्म १६ हजार ७ सय ६० नेपालीको शव विदेशबाट बाकसमा फर्किएको छ।
जापानको उदाहरण दिँदै उनले पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको बताए।
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, विदेशमा समस्यामा परेका नेपालीको उद्धार र श्रमिकको अधिकार संरक्षणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने तथा यस विषयमा सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको माग थियो।
